बीआरआई दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बेइजिङमा सुरु

जनालय न्यूज
१३ बैशाख २०७६, शुक्रबार १०:३७

बेइजिङ : चीनको रानधानी बेइजिङमा बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । शिखर सम्मेलन बिहीबार आरम्भ भएपनि बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार बिहान चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको हो।

सम्मेलनमा सम्बोधन गर्दै सीले बेल्ट एन्ड रोडको निर्माणबाट विश्व अर्थतन्त्रको नयाँ ढोका खोलिने बताए । यस परियोजनाले विश्वमा व्यापार र लगानीको विस्तार गर्ने वातावरण तयार गर्नुका साथै सहभागी देशका जनताको जीवस्तर उकास्न मद्दत पुग्ने सीले दाबी गरे।

राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआई उद्घाटनसत्रमा विशेष सम्बोधन गर्नेछिन् । राष्ट्रपति भण्डारी यसै सम्मेलनमा भाग लिनका लागि बुधबार चीन प्रस्थान गरेकी थिइन् । सम्मेलनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तीन मन्त्रीसहित नेपाली प्रतिनिधिहरु सहभागी छन्।

सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिनेछ । नेपालले बीआरआई परियोजनाअन्तर्गत आफ्नो योजना पहिले नै बुझाइसकेको छ । तर अन्तिम रूप पाएको छैन । बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकासलगायतमा छलफल हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । सम्मेलनको नारा ‘बेल्ट एन्ड रोड सहकार्य : एक उज्ज्वल साझा भविष्य’ भन्ने छ।

शनिबारसम्म चल्ने सम्मेलनमा ३७ देशका सरकार तथा राष्ट्र प्रमुखसहित अन्य प्रतिनिधिहरु सहभागी भएको चिनियाँ पक्षले जनाएको छ।