कक्षा ५ मा पढ्ने बालकले यस्तो ‘सुसाइट नोट’ लेखेर गरे आत्महत्या

जनालय न्यूज
९ असार २०७६, सोमबार २०:५६

काठमाडौं । ललितपुरमा एक बालकले ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेका छन् । बागमती गाउँपालिका–२ माल्टाका ११ वर्षीय समिर लुङ्वाले आत्महत्या गरेका हुन् ।

आफू परिवार र विद्यालयबाट समेत अपहेलित हुनुपरेकोले आत्महत्या गर्न बाध्य भएको उनले सुसाइट नोटमा लेखेका छन् ।

सोही गाउँपालिकामा पर्ने कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत लुङ्वाले घरपरिवार र विद्यालयका शिक्षक शिक्षिकाबाट माया नपाएको भन्दै एउटा चिठी अर्थात् सुसाइट नोट लेखेर आत्महत्या गरेको बताइएको छ ।

कक्षामा केटालाई मात्रै पिट्ने र केटीहरुलाई केही पनि नगर्ने र आफूलाई त झनै माया नै नगरेको आरोप उनले सुसाइट नोटमा लेखेका छन् ।

उनले लेखेको सुसाईट नोट

मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुखमा छु । मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजुले हेलाहा गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दैछु। सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भने । म यति भन्दै बिदा माग्छु । म एघार वर्ष भएँ । म जन्मेको महिना कार्तिक १४ गते हो । हस् म यो संसार छोडेर जाँदैछु ।

तीन शिक्षक नियन्त्रणमा

कक्षा ५ मा अध्ययनरत ११ वर्षका विद्यार्थीको शव झुण्डिएको अवस्थामा फेला परेपछि चापागाउँ प्रहरीले विद्यालयका तीन शिक्षकलाई हिरासतमा लिएर अनुसन्धान थालेको छ । वागमती गाउँपालिका माल्टा स्थित कालीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत समीर लुङ्वाको शव शनिबार राती उनकै घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

सुसाइट नोट फेला परेपछि शिक्षकहरु गोविन्द तिमिल्सिना, दिवाकर लामिछाने र सरस्वती घिमिरेलाई हिरासतमा राखेर अनुसन्धान थालिएकाे डिएसपी राजकुमार खिउँजुले जानकारी दिनुभयाे ।  लुङ्वाको शवलाई भने पोष्ट मार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।