काठमाडौंमा ८ आकाशे पुल बनाउने याेजना अलपत्र : कतै जग उठाएर छाेडियाे, कतै सुरसारै छैन

जनालय न्यूज
१४ श्रावण २०७६, मंगलवार ०८:५३

काठमाडौं-राजधानीका सडक वारपार गर्न समस्या भएपछि ८ वटा स्थानमा आकाशे पुल निर्माण गर्ने योजना बनेकाे थियाे तर कार्यान्वयन हुन सकेको छैन । सरकारले एक वर्षअघि बनाइएका योजनाअनुसार काम हुन नसकेको हाे ।

काठमाडौं महानगरपालिका र सडक विभाग छुट्टा–छुट्टै रुपमा सक्रिय बने पनि तत्कालै आकाशे पुल निर्माण सुरु हुने संकेत छैन ।

काठमाडौं महानगरपालिकाले चावहिल, जयवागेश्वरी, माइतीघर, नयाँ बानेश्वर, टेकु, सिंहदरवार क्षेत्रमा आकाशे पुल बनाउन क्षेत्र छनौट गर्यो । अहिले नयाँ बानेश्वरमा भने सडक विभागले नै बनाउने भएको छ । यी क्षेत्रमा ८ महिना भित्र पुल बनाउने लक्ष्य राखिएको थियो । लक्ष्य अनुरुप नयाँ बानेश्वरमा निर्माण कम्पनी प्राकृतिक पवन जेभीलाई १ करोड २० लाख रुपैयाँमा ठेक्का दिई काम अघि बढाएको छ ।

चीनले काम सम्पन्न गरी हस्तान्तरण गरीसकेको कलंकी कोटश्वर सडकखण्डमा २५ करोड रुपैयाँ लागतमा ६ वटा आकाशे पुल सडक विभागको जिम्मा छ । तर, ५ स्थानमा जग मात्र उठाएर अलपत्र छाडिएको देख्न सकिन्छ । विभागले जिम्मा लिएको सानेपा, बल्खु, महालक्ष्मी स्थानमा पनि निर्माण अलपत्र छ । अहिले पुलनहुदा सडक वारपार गर्न सर्वसाधरणले हैरानी खेप्नुपरेको छ ।

काठमाडौं महानगरपालिकाले ५ करोड रुपैयाँ बजेट विनियोजन गरी तत्काल चाबहिल, बानेश्वर, जयवागेश्वारी र माईतीघरमा काम अघि बढाउने र बाँकी टेकु, पुरातत्व विभागअगाडि प्रक्रियामा लैजाने गुरुयोजना बनाएको थियो । तर, अहिलेसम्म आकाशे पुल बनाउने सुरसार छैन ।

५ वर्षभित्र स्मार्ट सिटी बनाउने लक्ष्य बोकेको काठमाडौं महानगरपालिकाको योजनामाथि आकाशेपुलको अभावले गिज्याइरहेको छ । पुरानै बजेटको योजना नबन्दा नयाँ योजना भने थपेको थप्यै छ । चालुवर्षको बजेटले विष्णुमती, बागमती, धोवीखोलामा झोलुङगे पुलका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

-News 24