कलंकीमा पूर्वउपसचिवको छोरीमाथि गोली प्रहार

जनालय न्यूज
१४ श्रावण २०७६, मंगलवार १२:०६

काठमाडौं – काठमाडौंको कलंकीमा पूर्वउपसचिवको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार भएको छ ।

गएराति काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक मार्गमा रहेको तीन तले घरको दास्रो तलामा अध्ययन गरिरहेकी पूर्वउपसचिव विष्णुप्रसाद शर्माको छोरीको कोठामै गोलि प्रहार भएको हो ।

बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले भने, ‘‘तीनतले घरको दोस्रो तलामा १९ वर्षीया छोरी अध्ययन गरिरहेकी थिइन् । त्यहीबेला झ्यालको जालीबाट गोली पसेको देखिन्छ । गोली नै प्रहार गर्ने नियतबाट भएको हो कि होइन अनुसन्धान हुँदैछ ।”
उनले कोठाबाट एक राउण्ड सानो गोली बरामद भएको र कुनै प्रकारको क्षति नभएको बताए ।