भक्तपुरमा जीवन र उनकी प्रेमीकाको शव झुण्डिएको अवस्थामा फेला

जनालय न्यूज
१४ श्रावण २०७६, मंगलवार १६:३०

भक्तपुर, 
भक्तपुरको बोडेमा एक युवक र युवतीको शव झुन्डिएको अवस्थामा भेटिएको छ । बोडेमा डेरा गरी बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षे जीवन तामाङ र रामेछाप जिल्लाका बेथान घर भएकी १८ वर्षकी मंगली घिसिङको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । जीवन र मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान गरिएको छ ।

घरमा श्रीमती हुँदा हुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा हल्ला भएपछि उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

कोइरालाका अनुसार जीवनकी श्रीमती रितु तामाङले केही दिन अगाडी आफ्नो श्रीमान् अर्को युवतीसँग लागेर आफूलाई बेवास्ता गरेको भन्दै निवेदन दिएकी थिइन् । त्यसपछि प्रहरीले जीवनलाई बोलाएर रितुसंग छलफल गरेको र सोमबार जीवनले अब मंगलीसंग नबस्ने भन्दै प्रतिबद्धता समेत जनाएका थिए ।

शव पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको र थप अनुसन्धान भइरहेको बताएका छन् । २१ वर्षका जीवन तामाङ पेसाले सवारी चालकको काम गर्ने गर्दर्थे । जीवनकी श्रीमती रितु तामाङ २ वर्ष यता कहिले सिन्धुपाल्चोक त कहिले काठमाडौँ बस्दै आएकी थिइन् । श्रीमानको व्यवहार ठिक नलागेपछि उनले यहीँ साउन ११ गते महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी दिएपछि प्रहरीले जीवनलाई बोलाएर छलफल गरेको थियो ।

जीवनले प्रहरीसँगको छलफलमा “अब रितुसंग नै बस्छु भन्ने” प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले प्रहरीसँगको छलफलमा श्रीमती रितुलाई आवश्यक काजगपत्र बनाई दिने, रेखदेख गर्ने, खान लगाउन दिने लगायतका कुरा गर्ने भनेका थिए ।

प्रहरी वृत्तबाट निस्किएपछि जीवनले श्रीमती रितुलाई १ हजार रुपैयाँ दिएर कोठामा जाऊ भन्दै आफुकेही बेरमा आउने बताएको समेत रितुले प्रहरीलाई जानकारी दिएकी छिन् । तर मङ्गलवार बिहान घटनाले यो मोड लिएको प्रहरीको प्रारम्भिक भनाई छ ।