धार्मिक ऐतिहासिक स्थलहरुको नक्साङ्कन र स्रोत परिचालन गर्दै खिजीदेम्बा गाउँपालिका ( भिडियो सहित )

जनालय न्यूज
१६ श्रावण २०७६, बिहीबार ११:३५

काठमाडौँ -गाउँपालिकाको सबैभन्दा आधारभूत विषय भनेको गाउँपालिकाको पश्र्वचित्र हो । तर पश्र्वचित्रलाई सामान्य रुपमा लिएर समृद्धिको गफ दिनु आफैंमा हस्यास्पद कुरा हुन्छ । यसैले खिजीदेम्बा गाउँपालिकामा रहेका विभिन्न समुदायले बन्दै गरेको आफ्नो गाउँपालिकाको पश्र्वचित्र माथि छलफल शुरु गरेका छन् ।
मंगलबार सुनुवार सेवा समाजको भवन कोइँचनगर कोटेश्वरमा कोइँचहरुको अगुवाइमा गाउँपालिकाको ऐतिहासिक नामाकरण, साँस्कृतिक उत्कृष्टता, धार्मिक तथा ऐतिहासिक स्थल, शिक्षा, स्वास्थ्य र उद्योगको शिर्षकमा र प्राकृतिक स्रोतको नक्साङ्कन तथा स्रोत परिचालन गुरुयोजनाका विषयमा बाहुन, क्षेत्री, तामाङ, कोइँच, शिल्पी समुदाय वीच वृहत् छलफल भएको छ ।
कार्यक्रमको सुरु फोडिड नेपालका तर्फबाट विशेषज्ञ बिर्ख खत्रीले पश्र्वचित्रको ढाँचा र संकलित तथ्याङ्कहरु प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी रिसर्च इन्क्वेल प्रा.लि. को तर्फबाट विशेषज्ञ दुर्गप्रसाद दहाल र दुर्गप्रसाद पोखरेलले गुरुयोजनाका अवधारण र प्राप्त तथ्याङ्क प्रस्तुत् गर्नुभयो । उक्त प्रस्तुत् खाकामा नेपाली काङ्ग्रेस जिल्ला अध्यक्ष प्रदीपकुमार सुनुवारले सबैभन्दा मुख्य विषय पर्यटन भएको बताउँदै प्रोफाइल र गुरुयोजना समुदायको इच्छानुसार समुदायको आवश्यकतानुसार बनिनुपर्ने बताउनुभयो । बाहिरको मोडलले खिजीदेम्बाको समृद्धिको कल्पना गर्न नसकिने उहाँको जिकीर थियो ।

आदिवासी कोइँच समुदायको तर्फबाट सुनुवार सेवा समाज तथा नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष किरण मुखियाले प्रोफाइलमा आइएलओ महासन्धी १६९, युएनड्रिप, आइसिएच, सिडिविडि पनि उल्लेख गर्नुपर्ने भन्दै गाउँपालिका अध्यक्षलाई धन्यवाद समेत दिनुभयो ।
त्यसैगरी तामाङ समुदायबाट लक्ष्मण तामाङले खिजीदेम्बामा कसरी तामाङहरुको बसोबास शुरु भयो भन्ने पृष्ठभूमिका वारेमा बताउनुभयो । पूर्व गाविस अध्यक्ष गजेन्द्र बस्नेतले खिजीदेम्बाका आदिवासी अर्थात् पहिलो बासिन्दा कोइँच नै भएको र क्षेत्रीहरु तत्कालिन सिरुवा हाल लिखुपिकेबाट आएको बताउनुभयो र गुरुयोजनामा पर्यटनलाई पहिलो प्रथामिकता दिनुपर्ने भन्ने जिकिर गर्नुभयो । बाहुन समुदायबाट रुद्र पौडेलले बाहुनहरु क्युइँतिचहरुले रगनीमा बाहुनहरुलाई पुरेत ल्याएर राखेको जानकारी दिँदै कोइँचहरु लगायत सबै समुदायहरुको साँस्कृतिक, ऐतिहासिक कुराहरु उल्लेख हुनुपर्ने र गुरुयोजनामा कृषिलाई आधुनिकीकरणका वारेमा जोड दिन अनुरोध गर्नुभयो ।
कुमार रसाइलीले खिजीदेम्बालाई कृषि क्षेत्रमा नमुना गाउँपालिका बनाउनु पर्ने विभिन्न आयमूलक कृषि नर्सरी केन्द्र स्थापना गर्न सुझाव दिनुभयो । त्यसैक्रममा कृषिविज्ञ टिकाराम मुलिचाले गाउँपालिका अध्यक्षले घुमाउरो पारामा सम्झिनु भएकोमा घुमाउरो धन्यवाद दिँदै प्रोफाइल र गुरुयोजना विकास योजनाको पूर्वाधार हो । प्रोफाइललाई यति गहिरो रुपमा नजाँदा पनि बन्ने हो । तर अध्यक्षले सबैको भावना समेटेर पश्र्वचित्र बनाउँ भन्ने चाहना देखियो ।

यस्तो पवित्र कार्यको शुभसोँच राखेको हुँदा पुनः धन्यवाद दिन्छु । अध्यक्षको चाहनानुसार सम्बन्धित विज्ञहरुले झर्कों नमानी हामी वीच आफ्नो प्रारम्भिक अध्ययनलाई शेयर गर्ने मौका दिएर हाम्रो सुझाव सल्लाह संकलन गर्ने काम गर्नु भएकोमा विज्ञ टोलीहरुलाई पनि धन्यवाद दिनुभयो । उहाँले खिँजीदेम्बाको ऐतिहासिक पक्षमा प्रकाश पार्दै खिँचीहोपोको राजधानी भएको हुँदा खिँची नाम रहन गएको जानकारी गराउँदै कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको पनि बताउनुभयो ।
सुनुवार सेवा समाजको तर्फबाट आधिकारीक धारणा राख्दै महासचिव समीर मुखियाले अगाडि थप्नुभयो, प्रोफाइलको क देखि ज्ञ सम्म हाम्रो चासोको विषय होइन । हामीलाई गाउँपालिकाको ऐतिहासिक पक्ष, साँस्कृतिक पक्ष, शिक्षा स्वास्थ्य र उद्योगसँग बढी सरोकार छ । यस शिर्सकमा अलि मिहिनरुपमा प्रोफाइलमा उल्लेख होस र गुरुयोजनामा सुनुवार सेवा समाजले अगाडि बढाएको कल्चुरल भिलेज टुरिजम र मुक्दुम गार्डेनको योजना समेटियोस् ।
भुटान वर्माका नेपालीहरुमा पनि रामेछाप, दोलखा, ओखलढुंगाको गाउँ गाउँको नाम उल्लेख गर्दै कुलकुलायन पूजा गर्ने भएको हुँदा प्रोफाइल विज्ञ विर्ख क्षेत्रीले गुरुयोजनामा आदिवासी कोइँच समुदायको पुख्र्यौली थलो भएको खिजीदेम्बालाई हिन्दूको चारधाम, क्रिस्चियनको जेरुसेलम र मुस्लिमको मक्क मदिना जस्तै कोइँचको साँस्कृतिक, भाषिक केन्दरुपमा विकास गर्न सकिने भएको हुँदा आन्तरिक तथा वाह्य पर्यटनको प्रचुर सम्भावना भएको बताउनुभयो ।

कार्यक्रममा उठेको कुरालाई समर्थन गर्दै गाउँपालिका अध्यक्ष बेदबहादुर रोक्काले सबैको भावनाहरु पश्र्वचित्र र गुरुयोजनामा समेटिने प्रतिवद्धतासहित स्थायी सरकार तथा राजनीतिक रुपमा धेरै असहयोग भएको गुनासो पनि गर्नुभयो । आफ्नो कार्यकालमा चार जना प्रशासकीय अधिकृत फेरिएको बताउँदै गाउँपालिकाको कार्यालयमा काम गर्ने कर्मचारी नहुँदा आफैंले चिट्ठी ड्राफ्ट गर्दा सेवाग्राहीले नचिनेर खरिदार साब भनि मागेको रोचक घटनाको पनि स्मरण गर्नुभयो । उहाँले भाषिक साँस्कृतिक र समुदायगत सबै काम गर्ने र कसैले अध्यक्ष खोजेर हिड्न नपरोस् भनेर आदिवासी छात्रुवृद्धि, विवाहित महिलो शैक्षिक भत्ता, विद्यालय अनुदान वितरण नीति नियम बनाएको जानकारी गराउनुभयो ।
कार्यक्रमको अन्तमा सुनुवार सेवा समाजको अध्यक्ष रणवीर सुनुवारले सबैलाई धन्यावाद सहित गाउँपालिका अध्यक्ष लगायत विज्ञ टोलीहरुले समुदायमा आधारित प्रोफाइल, गुरुयोजना निर्माणका लागि हामीहरुलाई तथ्याङ्क शेयर गर्नुभएको खुशी लागेको बताउँदै कार्यक्रम समापन गर्नु भयो ।

जनालय टिभीका किशोर सुनुवार, सुनुवार सेवा समाज संस्कृति तथा अनुसन्धान विभागका सदस्य सचिव शिव सुनुवार, सदस्य पारु सुनुवार, कार्यालय सहयोगी बुद्ध सुनुवार, जिरी नगर समिति अध्यक्ष राजेन्द्र सुनुवार, गोकर्णेश्वर नगर समिति सचिव कमल सुनुवारले कार्यक्रम सफल पार्नमा विशेष भूमिका खेल्नुभएको थियो भने कार्यक्रमको संयोजन तथा अतिथि सत्कार सुनुवार सेवा समाजका कोषाध्यक्ष शोभा सुनुवारले गर्नुभएको थियो ।