रबि लामिछानेलाई यी कारणले धेरै समर्थनको पक्ष देखिएको हो

ललित कुमार बस्नेत
९ भाद्र २०७६, सोमबार ०७:१७

संचारकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दामा अभियुक्त बनाइएका संचारकर्मी रवि लामिछानेको र अर्का अभियुक्त युवराज कँडेलको संभवत आज बयान सकिएपछि थुनामै राखी मुद्दा अघि बढाउने, धरौटीमा वा साधारण तारेखमा छोड्ने भन्ने कुराको अदालतले कुनै निर्णय गर्नेछ । उनी आज तारेखमा छुट्ने वित्तिकै उनका पक्षधरहरुले रवि निर्दोष देखिए भनी व्यापक प्रचार गर्न सक्छन् भने उनी थुनामै रही मुद्दा अघि बढाइएमा उनका विरोधीहरुले रवि दोषी नै ठहरिए जस्तो गरी व्यापक प्रचार गर्न सक्छन् । उनी आज तारेखमा छुटुन वा थुनामै रहुन उनीलाई अहिले नै दोषी वा निर्दोषी भन्न मिल्दैन । त्यो सक्षम अदालतले अनुसन्धान गरी अन्तिम फैसला गरेपछि मात्र थाहा हुने कुरा हो । कामना गराैं उनी निर्दाेष ठहरिने छन् । अदालतको फैसलाले उनी दोषी, निर्दोषी जे जुकै ठहरे पनि अहिले उनको समर्थनमा देखिएको विशाल समर्थनलाई भने गम्भिरढंगले अध्ययन विश्लेषण गरी ऐतिहासिक पाठ सिक्नुपर्दछ । निम्न अनुसारका प्रमुख कारणहरुले उनले पक्षमा अपार समर्थन देखिएको हो कि जस्तो लाग्छ ः
१. सीधा कुरा जनतासँग कार्यक्रम कार्यक्रम मार्फत उनले वैदेशिक रोजगारीमा हुने ठगी देखि देशभित्रका अनियमितता, वेथिति विरुद्ध आक्रामक ढंगले प्रस्तुत भई पीडितको पक्षमा आवाज उठाउने र कतिपय घटनामा पीडितलाई न्याय दिलाउन समेत सशक्त भूमिका खेलेको दृश्य टिभी तथा सामाजिक संजालमा हेरेका जनताले रविलाई आफ्नो महानायक जस्तो ठान्न पुगे ।
२. आत्महत्या गरेको भनिएका व्यक्तिले रवि लगायतका व्यक्तिका कारण आत्महत्या गरेको भनी रेकर्ड गरेको भनिएको भिडियोमा षडयन्त्र पो गरिएको छ कि भनी शंका गर्न सकिने थुप्रै ठाउँ देखिनु । उक्त भिडियो रविको लामो समयदेखि कडा रुपमा द्वन्द्व भएका भनिएका र उनी निकट व्यक्तिका संचार माध्यमबाट बाहिरिनु, हत्या /आत्महत्या के हो भन्ने एकीन नहुँदै र उनी विरुद्ध किटानी जाहेरी समेत नआउँदै पक्राउ गरिनु । यी कुनै पनि कुरामा यदि षडयन्त्र छैन भने यिनको समयमै जिम्मेवार निकायले आम जनतालाई सही सूचना दिन सक्नु पर्थ्याे जो दिइएन । यसले गर्दा राज्यका निकाय आफै षडयन्त्रमा संलग्न पो छन् कि भन्ने आम जनतामा पर्न गएको छ ।
३ राज्यले निर्मला पन्त लगायतका विभिन्न अपराधहरुमा पीडितलाई न्याय दिलाउन नसक्दा आम जनताको राज्यका निकायहरुप्रति अविश्वास बढ्दै गएको देखियो । राज्यका सक्षम निकायहरुमार्फत निष्पक्ष रुपमा सत्य तथ्य छानविन गरी दोषी, निर्दोषी पत्ता लगाई दोषीलाई कडा दण्ड दिइनेछ र निर्दोषीलाई सफाई दिइनेछ तथा पीडितलाई उचित न्याय दिइनेछ भन्ने कुरामा आश्वस्त पार्न सकेको देखिएन ।
४. सामाजिक संजालको अत्यधिक दुरुपयोग । youtube, facebook लगायतका सामाजिक संजालमार्फत कसैलाइ जति चर्को ढंगले गाली गलौज गर्न सक्यो, राज्यको धज्जी उडाउन सक्यो, तथ्यहिन कुराहरुको मसलेदार ढंगले प्रस्तुत गर्न सक्यो उति छिटो लाइक, कमेन्ट, शेयर पाउँदै हिट हुने मात्र होइन विना लगानी, राज्यलाई कुनै कर नतिरी लाखौं पैसा कमाउन सकिने भएपछि भएकोले मानिसहरु रातारात पैसा कमाउन र हिट हुन यस्तै काम गर्न थाले । सोझा सोझा नेपालीहरु यिनै सामाजिक संजालमा आएका अतिरञ्जनापूर्ण कुराहरुको पछि लागि समर्थन गर्न पुगे ।
५. Bandwagon effect को सिद्धान्त अनुसार विभिन्न तह र तप्काका धेरै मानिसहरु रविको समर्थनमा पछि लागेको देखेपछि अरु धेरै मानिसहरु त्यसैको पछि लागेको देखिन्छ ।
६. राज्यको संरचना र शासन प्रणालीमा भएको युगान्तकारी परिवर्तनको विपक्षमा रहेका राजनीतिक शक्तिहरुले यो अवसरलाई सदुपयोग गर्दै राज्य विरुद्ध जनता भड्काउने सुवर्ण अवसरको रुपमा उपयोग गर्न खोजे । फलस्वरुप वर्तमान शासन व्यवस्थाको विपक्षमा रहेका राजनैतिक दलहरु योजनाबद्ध ढंगले सरकारी निकायको विरोधमा उत्रिए । परिवर्तनको पक्षधर शक्तिहरु यो घटनामा राजनैतिकरण नगरौं भन्दै तटस्थ रहन पुगे जसले गर्दा शासन व्यवस्थाको पक्षमा रहेका राजनीतिक दलका कार्यकर्ताहरु पनि उनको समर्थनमा स्वतःस्फूर्त रुपमा देखापरे ।
७. नेपाली जनता देशमा व्याप्त हत्या, हिंशा, वलात्कार, भ्रष्टाचार आदिका खबर सुन्दा सुन्दा वाक्क दिक्क भएको परिवेशमा विभिन्न गैर सरकारी संस्थाहरुले जनताको यो मनोविज्ञान बुझी जनतालाई सडकमा उतार्न उत्प्रेरकको साथसाथै संयोजनकारी भूमिका समेत खेलेको देखियो ।
यस्ता घटनाबाट उचित पाठ सिकी राज्यले आफूलाई बेलैमा सुधार गर्दै जानु र देशमा कानूनको शासन कायम भएको अनुभूति दिलाउनु आजको टड्कारो आवश्यकताको रुपमा रहेको छ ।

-ललित कुमार बस्नेत

प्रमुख जिल्ला अधिकारी -जाजरकोट ।