जाजरकोटमा पहिरोले पुरिएर एकै घरका तीनको मृत्यु

जनालय न्यूज
१५ भाद्र २०७६, आईतवार ०८:३५

जाजरकोट । भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ ।

आइतबार १ः४५ बजे आएको पहिरोले घर पुर्दा ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

पार्वतीका श्रीमान् बलबहादुर घर बाहिर सुतेका कारण बाँच्न सफल भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उहाँले बताउनुभयो । अहिले घटना स्थलमा उद्धार कार्य जारी छ ।