धनगढी की खगित्राले जन्माईन चार सन्तान

जनालय न्यूज
९ आश्विन २०७६, बिहीबार ११:२४

धनगढी-धनगढी की एक महिलाले चार सन्तानलाई जन्म दिएकी छन् ।धनगढी उपमहानगरपालिका—५ तारानगरका पदम बहादुर शाहीकी पत्नी खगित्रा खत्रीले एक छोरी र तीन छोरालाई जन्म दिएकी हुन् ।

चिकित्सकले उनको पेटबाट बुधवार बिहान ९ बजेर ४० मिनेटदेखि ४५ मिनेटसम्ममा एक छोरी र तीन छोरा पालैपालो शल्यक्रिया गरेर निकालेको हो । पहिले जन्मिएकी छोरी १ किलो सात सय ग्रामकी छिन्। त्यसपछि जन्मिएका छोराहरु क्रमशस् १ किलो पाँच सय ग्राम, १ किलो र ९०० ग्रामका छन्।

अहिले खगित्रा र उनका चारै नवजात शिशुलाईको काठमाडौं मेडिकल कलेजको नियोन्याटल इन्टेनसिभ केयर युनिट(एनआईसीयु) मा राखिएको छ ।
शाही र खत्रीका यसअघि ६ वर्षीया एक छोरी छन् ।

छोरी जन्मिएको पाँच वर्षपछि दुवैले दोस्रो सन्तानको योजना बनाएका थिए। खगित्राको गर्भ नरहेपछि स्वास्थ्यकर्मीको सल्लाहमा ओभुलेसन इन्डक्सनका लागि निजी अस्पताल गएपछि उनी गर्भवती भईन ।

तीन महिनापछि गर्भमा चार वटा बच्चा रहेको र खगित्राको ज्यान जोखिममा रहेको डाक्टरले बताएपछि शाही पत्नी खगित्रालाई लिएर भदौ ११ गते काठमाण्डौं पुगेका थिए ।
काठमाण्डौं गएको झण्डै एक महिनापछि खगित्राले बुधवार चार सन्तानलाई जन्म दिएकी हुन् ।

धनगढीमा किराना पसल सञ्चालन गर्दै आएका पदमले डाक्टरले खत्री दम्पत्तीका नवजात शिशुको फोकसो पूर्ण रुपले विकास नभएकोले फोक्सो विकसित गर्ने औषधी दिनुपर्ने बताएका छन् ।
त्यसका लागि एउटा औषधीकै २० हजार रुपैयाँ पर्ने चिकित्सकले बताएका छन् । र एउटा शिशुको बेड चार्ज दचार हजार पाँच सय रुपैया लाग्ने गरेको छ । जसअनुसार चारै नवजात शिशुको दैनिक खर्च १८ हजार रुपैया लाग्ने पदमले बताए ।

एनआईसीयु बाहिर नवजात शिशु र पत्नीलाई हेर्न कुरेर बसेका पदमले अहिलेसम्म उनीहरुलाई भेट्न पाएका छैनन ।

आर्थिक अवस्था कमजोर भएका कारण उनलाई त्यहाँ राखेर उपचार गर्न कठिनाई भएको छ ।

उनीहरुको अवस्था सामान्य भएपछि उपचारका लागि सस्तो अस्पताललमा लैजाने तयारीमा रहेको खत्रीले बताए ।