सभामुख महरामाथि जवर्जस्ती करणीको गम्भीर आरोप- को हुन् ति महिला ?

जनालय न्यूज
१३ आश्विन २०७६, सोमबार २१:१५

काठमाडौं-सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीले यौन दूव्र्यवहारको गम्भीर आरोप लगाएकी छन्। ती महिलाले आइतबार राति सभामुख महराले आफुमाथि यौन दूर्व्यवहार गरेको आरोप लगाएकी हुन्।

सोमबार विभिन्न सञ्चारमाध्यमहरुले ती महिलालाई उद्धृत गर्दै समाचार प्रकाशित गरेपछि डिसी नेपालले सभामुखको सचिवालयलाई सम्पर्क गरेको छ।

सभामुखका प्रेस सल्लाहाकार डिल्ली मल्लले भने सो आरोप सत्य नभएको डिसी नेपाललाई बताए। उनले यो विषयमा सचिवालयले औपचारिक खण्डनको तयारी गरिरहेको बताए। उनले आइतबार सभामुख ती महिलाको कोठामा गए नगएकोबारे भने केही खुलाएनन्।

उता हाम्राकुरा डटकमसँगको कुराकानीमा पीडित महिलाले सभामुख महराले आफुमाथि कुकृत्य गरेपछि नेकपाका महिला नेतृहरुलाई सम्पर्क गरेको बताएको हाम्राकुरा डटकमले उल्लेख गरेको छ।

ती महिलाले नेकपा नेतृ पूर्व सभामुख ओनसरी घर्ती मगरसँग पनि यो विषयमा कुरा गरेको हाम्राकुरासँग बताएकी छन्। डिसी नेपालले नेतृ घर्तीमगरसँग सम्पर्क गर्दा आफुलाई राति कसैको पनि फोन नआएको जवाफ दिइन्। उनले डिसी नेपालसँग भनिन्, ‘मलाई यो विषयमा केही थाहा छैन। अहिले तपाईँले भनेको सुने।’

उता सभामुख महराले अनलाइनखबर डटकमसँग कुरा गर्दै कर्मचारी समायोजनको रिस पोखेको प्रतिक्रिया दिएका छन्।