बाबुआमाको त्रासले ९ महिना की गर्भवती कञ्चन निकै तनावमा

जनालय न्यूज
१ कार्तिक २०७६, शुक्रबार ११:२८

सप्तरी : आफ्नै आमा बाबुले पतिमाथि मुद्दा लगाएपछि ९ महिनाकी गर्भवती कञ्चन मिश्रा तनावमा परेकी छिन्। आमाबाबुबाटै असुरक्षित भएको भन्दै बिहीबार उनले सञ्चारकर्मीमाझ सहयोग र न्यायका लागि पहल गरिदिन आग्रह गरेकी छिन्।वीरगन्ज महानगरपालिका–७ की कञ्चनले २०७५ साल माघ २ गते सप्तरीको राजविराज नगरपालिका–१ निवासी रोक्की झासँग भागी विवाह गरेकी थिइन्।  आफ्नो प्रेमलाई परिवारले अस्वीकार गरेपछि भागेर विराटनगरस्थित राधाकृष्ण मन्दिरमा गई बिहे गरेको कञ्चनले जानकारी दिइन्।

हाल कञ्चनको उमेर १९ वर्ष र उनका पति रोक्कीको उमेर २४ वर्ष छ। आफूभन्दा तल्लो जातको केटासँग बिहे गरेको भन्दै कञ्चनका बाबु मनोज मिश्रा र आमा सावित्रीले उमेर नपुगेको छोरीलाई रोक्की र उनका बुवा अमरकान्त झाले अपहरण गरेर लगेको भन्दै प्रहरीमा जाहेरी दिएपछि दुवै पक्षका अभिभावकबीच द्वन्द बढेको हो।

छोरी भगाउने रोक्कीलाई पक्राउ गर्न प्रहरीले ढिलाई गरिरहेको भन्दै कञ्चनकी आमा सावित्रीले बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर सर्वोच्च अदालत पुगेपछि  विवाद झन चर्कियो।  रोक्की ३ वर्षअघि अध्ययनको शिलशिलामा  वीरगन्ज पुगेका थिए। उनी वीरगन्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा पढ्थे।  वीरगन्जकै स्थित अनुभुति एजुकेशनल फाउन्डेशनमा प्लसटु पढदै गरेकी कञ्चनसँग प्रेम बसेपछि रोक्कीले कञ्चनका अभिभावक समक्ष राखिएको विवाहको प्रस्ताव राखेका थिए।

कञ्चनका अभिभावकले प्रस्ताव अस्वीकार अस्वीकार मात्र गरेनन् उनीमाथि कुटपिट समेत गरे। त्यसपछि  भागेर मन्दिरमा गई बिहे गरेको गरेका कञ्चनले जानकारी दिइन्। करिब डेढ महिनापछि फागुन १७ गते प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतकै निवासमा पञ्चायत राखी दुवै पक्षलाई राखीसहमतिको प्रयास गरिएको थियो तर कञ्चनले आफू पतिसँगै बस्ने अडान र केटी पक्षले जबरजस्ती छुटयाएर लैजाने अडान राखेका कारणसहमति हुन सकेन।

पञ्चायतमा अधिकांशले प्रेम विवाह गरेका जोडीलाई छुटयाउन नहुने तर्क गरेका थिए। तर केटी पक्षले नमानेपछि पञ्चायत बिना निष्कर्ष टुंगियो। आफूले कञ्चनका अभिभावकलाई विभेदको मानसिकता त्यागेर विहेलाई मन्जुरी दिन पटक–पटक अनुनय विनय गरेको तर उल्टै तँलाई बर्बाद पारी दिन्छु भन्दै धम्कयाउने गरेको रोक्कीका बाबु अमरकान्तले सुनाए।

कञ्चनले आफूलाई कसैले अपहरण वा बन्धकमा पारेर नराखेको र मन परेको केटासँग विवाह गर्दा आमा–बाबुबाटै असुरक्षित हुनुपर्दा तनाव भएको सुनाइन। आमाबुवाकै डरका कारण गर्भवती अवस्थामा लुकी–लुकी स्थान परिवर्तन गर्दै बस्न बाध्य भएको उनी बताउछिन्। उनले सुरक्षित पतिको घरमा सुरक्षित बस्ने वातावरण मिलाई दिन आग्रह गरेकी छिन्।

पतिको घरमा दिनपिछै प्रहरी र आमा बुवाले पैसा दिएर खटाएको मान्छेहरु आफूहरुलाई खोज्दै आउने गरेकाले डरका कारण घर जान नसकेको गुनासो गरिन।  चिकित्सकले आफूलाई कार्तिक ४ गते सुत्केरी हुने  भनी दिएको मिति  नजिकिक्दै गर्दा माइती पक्षबाट आएको मानसिक यातना, धम्की र कानूनी जटिलताले समस्या निकै तानाव भएको दुखेसो पोखिन्।

श्रीमती गर्भवती भएको अवस्थामा सहयोग र सदभावको सट्टा माइती पक्षबाट प्रहरी, भाडाका मान्छे प्रयोग गरी तर्साउने र मानसिक यातना दिने काम भइरहेकाले आफूहरु असुरक्षित भएको कञ्चनका पति रोक्की बताउछन्।

यसरी भागेर विवाह गरेका जोडी मध्ये अधिकांश घटनामा असन्तुष्ट अभिभावकले अपहरण तथा जबरजस्ती करणीमा निवेदन दिने गरेको पाइएको प्रहरीको भनाइ छ। जसकारण पे्रम विवाह गर्नेलाई बेलाबेलामा बलात्कार मुद्दामा जेल पठाउने स्थिति समेत उत्पन्न हुने गरेको नागरिक अगुवा सुखराम यादव बताउछन्।

-Annapurna post