‘मृत्युमार्ग’ भनेर चिनिने सिद्ध बाबामा बन्ने भयो नेपालको दोस्रो सुरुङ्ग मार्ग

अर्थ मन्त्रालयको सहमतिसँगै टेन्डर आह्वानको तयारी
जनालय न्यूज
३ मंसिर २०७६, मंगलवार १२:४३

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबावा क्षेत्र पहिरोको कारण अति जोखिमपूर्ण मानिन्छ । हरेक मौसममा यात्रुले त्रास नै त्रासका बीचमा सो सडक पार गर्नुपर्ने बाध्यता रहेको छ ।

अझ बर्खाको समयमा पहिरो खसेर सडक अवरुद्ध हुने र माथीबाट ढुङ्गा खसेर सवारीमा क्षति पुग्ने घटना हरेक वर्ष हुने गरेको छ । यही क्षेत्रमा धेरै यात्रुले ज्यान गुमाएका छन् भने कयौँ घाइते बनेका छन् । जोखिमयुक्त यो सडक खण्डमा दुर्घटना भइराख्ने भएकाले कतिपयले यसलाई ‘मृत्युमार्ग’ पनि भन्ने गरेका छन् ।

दुर्घटनाको खतरालाई ध्यानमा राख्दै अब सो क्षेत्रमा सुरुङ्गमार्ग बन्ने भएको छ । अर्थ मन्त्रालयको एक पत्रपछि सुरुङ मार्ग निमार्णको प्रकियामा जाने भएको हो ।

यसअघि, पहिरोको अति जोखिम क्षेत्रका रुपमा रहेको बुटवल–पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्रमा दुर्घटना न्यूनीकरणका लागि सुरुङ मार्ग, हाफ टनेल, बेञ्च कट वा रकनेटलगायत आधा दर्जन प्रविधिमध्ये कुनै एक प्रविधि अपनाउन सकिने विषयमा लामो बहस भएको थियो ।