यौन शोषणको आरोपमा एसएसपी निलम्बित

जनालय न्यूज
१८ माघ २०७६, शनिबार १६:०४

काठमाडौ  वरिष्ठ प्रहरी अधिकारी माथि परेको गम्भीर उजुरीउपर प्रहरी प्रधान कार्यालयले छानबिन नगरेपछि गृह मन्त्रालयले आफैँ छानबिन थालेको छ । संघीय प्रहरी इकाइ धरानमा कार्यरत एसएसपी सौरभ राणालाई निलम्बन गरेर गृह मन्त्रालयले छानबिन थालेको हो । उनीमाथि महिला प्रहरीमाथि यौन शोषण गरेको गम्भीर आरोप छ । उनीमाथि छानबिन गरेर कारबाही गर्न दुई महिनाअघि नै गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – प्रहरी प्रधान कार्यालयले छानबिन नगरेपछि गृह मन्त्रालयले आफैँ छानबिन थालेको हो । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयको प्रस्तावविना नै गृहले उनलाई निलम्बनको निर्णय गरेको हो । सामान्यतया प्रहरी प्रधान कार्यालयको सिफारिसमा सिनियर तहका प्रहरीको निलम्बन हुने गर्दछ । एसएसपी राणालाई बिहीबारदेखि ६ महिनाका लागि निलम्बन गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।

एसएसपी राणाविरुद्ध गत कात्तिकमै गृह मन्त्रालयमा उजुरी परेको थियो । उनीबाट पीडित एक महिलाले उजुरी गरेकी थिइन् । आफूलाई धम्क्याएको तथा एक महिला प्रहरीलाई यौन शोषण गरेको उजुरी थियो । प्रारम्भिक रूपमा छानबिन गर्दा उनको कमजोरी देखिएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानमा चासो नदिई उल्टो राणालाई संरक्षण गरेको सूचना पाएपछि आफैँ छानबिन गर्नुपरेको गृह मन्त्रालयका एक अधिकारीले बताए ।

राणालाई पक्राउ गर्न अदालतसँग आदेश माग
सुनसरीका प्रहरी प्रवक्ता डिएसपी विनोद शर्माले राणाविरुद्ध जबर्जस्ती करणी कसुरमा किटानी जाहेरी दर्ता भएको बताए । शुक्रबार अदालत बन्द भएका कारण प्रक्रिया नपुगेको उनको भनाइ छ । ‘हामीले प्रतिवेदन अदालतमा पेस गरेका छौँ । अदालतले पक्राउ आदेश जारी गरे मात्र हाम्रो काम सुरु हुन्छ,’ डिएसपी शर्माले भने ।