काठमाडौंको सुरक्षा अब केन्द्रकै कमान्डमा

जनालय न्यूज
१५ श्रावण २०७७, बिहीबार १२:२७

काठमाडौं : काठमाडौं उपत्यकाकाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन अब केन्द्र मातहतबाटै गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा राजधानीको सुरक्षा व्यवस्थापन गर्ने जिम्मा केन्द्र मातहत रहने गरी प्रकिया अघि बढाउने निर्णय भएको हो। त्यो अनुसार प्रहरी समायोजन तथा अन्य सुरक्षा समन्वय एवं संरचना तयार गर्न प्रधानमन्‍त्री ओलीले निर्देशन दिएका छन्।

राजधानको सुरक्षा संवेदनशिलता र चुनौतीलाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको बैठकमा सहभागी गृहका अधिकारीले बताए। राजधानीको सुरक्षा केन्द्र सरकार मातहत हुने कि प्रदेश सरकारबाट भन्नेमा लामो समय विवाद हुँदा समायोजनको काम अगाडि बढ्न सकेको थिएन। बाग्मती प्रदेश सरकारले राजधानी (उपत्यकाका तीन जिल्ला) लाई आफू मातहत राख्न खोजिरहेको थियो। तर, गृह मन्त्रालय र नेपाल प्रहरी केन्द्र मातहत हुनुपर्ने पक्षमा थियो।

समायोजन मस्यौदालाई अन्तिम रुप दिन प्रधानमन्त्रीसहित बसेको बैठकले राजधानीको शान्ति सुरक्षा अन्तत: केन्द्र मातहत रहने निर्णय गरेको हो। बुधबारको सरक्षा बैठकमा प्रधानमन्त्री ओलीले देशको केन्द्रीय राजधानीको सुरक्षा संवेदनशील मध्य नजर गर्दै केन्द्रीय प्रहरी खटाउनुपर्ने धारणा राखेपछि प्रहरी समायोजन मस्यौदामा केन्द्र मातहत राखिने भएको बताए।

हाललाई प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नै राख्ने समेत निर्णय सहमति भएको छ। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रदेश प्रहरी प्रमुख राख्न माग गर्दै आएका थिए।  गृहले प्रहरी समायोजनाको विषय टुंगो लगाएसँगै अब समायोजन प्रक्रिया सुरु हुने गृह मन्त्रालयका एक अधिकारी बताए। महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ।

बुधबार प्रधानमन्त्रीनिवासमा प्रहरी समायोजन सम्बन्धमा छलफल गर्न गृह मन्त्रालय तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूको टोली पुगेका थिए।